बालेनले प्रयोग गरेको ल्यान्डरोभरसहित १५ गाडीमा कर छलीको आशंका, अख्तियारद्वारा अनुसन्धान सुरु

जनकपुरधाम, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साह (बालेन) ले प्रयोग गरेको ल्यान्डरोभर डिफेन्डरसहित १५ वटा सवारीसाधन कर छलेर नेपाल भित्र्याइएको आशंकामा अनुसन्धान सुरु गरेको छ ।
अख्तियारका अनुसार काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर साहले चुनावी प्रचारका क्रममा प्रयोग गरेको ल्यान्डरोभर गाडी विवादास्पद गुट्खा व्यापारी कमल किशोर मालपानीको स्वामित्वमा रहेको हो । करिब ८ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त गाडी झापा लगायत पूर्वी जिल्लामा प्रचारप्रसारका लागि प्रयोग गरिएको थियो ।
सामाजिक सञ्जालमार्फत सुशासन र पारदर्शिताका विषयमा धारणा राख्दै आएका साहले कर छली गरी भित्र्याइएको गाडी प्रयोग गरेको भन्दै आलोचना चुलिएको थियो । अख्तियारको प्रारम्भिक अनुमानअनुसार ल्यान्डरोभरसहित १५ वटा गाडीमा कुल २ करोड २१ लाख ६० हजार २०५ रुपैयाँ बराबरको राजस्व छली भएको देखिएको छ । सो प्रकरणमा कसलाई ‘दानापानी’ बुझाएर राज्यको ढुकुटीमा क्षति पुर्याइयो भन्ने विषयमा अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरले ती सवारीसाधन ‘एकिन चेकजाँच’ नगरी भन्सार कार्यालयबाट प्राप्त पत्रको आधारमा गलत विवरण राखी दर्ता गरेको पाइएको छ । ल्यान्डरोभर डिफेन्डर ११० मोडलको २९९६ सीसी डिजेल इन्जिन गाडीमा ३५८.६७ प्रतिशत भन्सार दर लाग्ने भए पनि पेट्रोल इन्जिन, प्लग–इन हाइब्रिड भनेर देखाई २५७.९८ प्रतिशत मात्र भन्सार तिरेर जाँचपास गरिएको प्रारम्भिक छानबिनमा खुलेको छ ।
यसरी दुई वटा ल्यान्डरोभर गाडीमा मात्रै १ करोड ५० लाख ११ हजार १९३ रुपैयाँ राजस्व छली भएको देखिएको छ । तीमध्ये बालेनले प्रयोग गरेको गाडीमा ७६ लाख ५० हजार ७२० रुपैयाँ कर छली भएको पाइएको छ । उस्तै प्रकृतिको अर्को ल्यान्डरोभरमा पनि ७३ लाख रुपैयाँभन्दा बढी कर छली भएको अख्तियारको भनाइ छ ।
त्यसैगरी ल्यान्डरोभर कम्पनीका ३ वटा रेन्ज रोभर भेलार र एउटा रेन्ज रोभर इभोक गरी चार वटा डिजेल इन्जिन गाडीमा पनि भन्सार दर घटाएर जाँचपास गरिएको पाइएको छ । ती गाडीमा कुल ७१ लाख ४९ हजार ११ रुपैयाँ राजस्व छली भएको देखिएको छ । ती सबै गाडी वीरगन्ज भन्सार नाका हुँदै नेपाल भित्रिएका हुन् ।
प्रारम्भिक छानबिनमा यातायात व्यवस्था विभाग मीनभवनले सवारीसाधनको स्पेसिफिकेसनसम्बन्धी गलत विवरणसहित भन्सार तथा यातायात कार्यालयहरूलाई पत्राचार गरेको पनि खुलेको छ ।
काइरोस इन्टरनेसनल प्रालि ज्ञानेश्वर काठमाडौंले सन् २०२४ देखि हालसम्म आयात गरेका ल्यान्डरोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारीसाधनको कागजात र प्राविधिक विवरण भिडाएर जाँच गर्दा कर छली भएको अख्तियारको निष्कर्ष छ । उक्त कम्पनी गुट्खा व्यवसायी कमल किशोर मालपानीको हो ।
मालपानी श्रीराम टोबाको कम्पनीमार्फत गुट्खा, सुर्तीजन्य पदार्थ तथा करेन्ट चाउचाउ उत्पादन गर्दै आएका व्यवसायी हुन् । उनीसँग विवादास्पद पूर्व कर्मचारी रघुनाथ घिमिरेदेखि व्यवसायी दीपक भट्टसम्मको सम्बन्ध रहेको उल्लेख गरिएको छ । घिमिरे अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा बजेट निर्माणमा अनधिकृत रूपमा संलग्न भई करका दर हेरफेर गरेको आरोप खेप्दै आएका व्यक्ति हुन् ।
अख्तियारका अनुसार विवादास्पद व्यवसायी, भन्सार विभाग, वाणिज्य विभाग तथा यातायात व्यवस्था विभागका कर्मचारीहरूको मिलेमतोमा सवारीसाधन भित्र्याइएको आशंका छ । यस विषयमा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


