मधेशको नेतृत्व कमजोर पार्नेहरू अब टिक्दैनन् : पूर्वमुख्यमन्त्री सोनल

बारा, २५ माघ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले आफूलाई मुख्यमन्त्री बन्न नदिन षड्यन्त्र गर्ने शक्तिहरूलाई कडा शब्दमा चेतावनी दिएका छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको मतबाट यस्ता प्रवृत्तिलाई सजाय दिइने बताएका हुन् ।
सोनलले भने, ‘आफ्नै मुखमा कालो दलेर मलाई कमजोर देखाउने प्रयास गर्नेहरूलाई बारा–४ का सचेत जनताले मतमार्फत कालो दलेर घर पठाउनेछन् ।’
उनले जनताको भरोसामाथि खेलवाड गर्ने र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नेहरू अब टिक्न नसक्ने दाबी गरे ।
पूर्वमुख्यमन्त्री सोनलले आफूले पदमा रहँदा मधेशको विकास, रोजगारी सिर्जना र सुशासनका लागि इमान्दार प्रयास गरेको उल्लेख गर्दै केही स्वार्थी समूहले त्यसलाई बदनाम गर्ने अभियान चलाएको आरोप लगाए ।
‘मधेशको अधिकार, पहिचान र विकासका लागि लड्ने नेतृत्वलाई कमजोर पार्ने षड्यन्त्र अब सफल हुँदैन,’ उनले भने, ‘जनताले सत्य र असत्य छुट्याइसकेका छन् ।’
उनले आगामी निर्वाचनलाई परिवर्तन र स्थायित्वको अवसरको रूपमा लिन आग्रह गर्दै बारा–४ का मतदातालाई विकासमुखी र इमान्दार नेतृत्वको पक्षमा उभिन आह्वान गरे ।
सभामा सहभागी कार्यकर्ताहरूले सोनलको भनाइप्रति समर्थन जनाउँदै आगामी चुनावमा बलियो जनमतसहित विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


