जनकपुरधाम, २५ माघ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेशको विकास र अधिकार सुनिश्चित गर्न कांग्रेसको जित अनिवार्य रहेको बताएका छन् ।

धनुषा क्षेत्र नम्बर–३ अन्तर्गत चार स्थानमा सम्पन्न सभालाई सम्बोधन गर्दै निधिले आगामी निर्वाचनलाई प्रतिनिधि छनोटको प्रक्रिया मात्र नभई संविधानको रक्षा र समृद्ध मधेश निर्माणको जनमत संग्रहका रूपमा व्याख्या गरे ।

‘यो चुनाव व्यक्तिको नभई नीति र भविष्यको हो । अधुरा योजना पूरा गर्न र धनुषालाई विकासको नयाँ दिशामा लैजान म तपाईंहरूमाझ आएको हुँ,’ उनले भने ।

निधिले आफू सधैं जनतासँग जोडिएर काम गर्दै आएको उल्लेख गर्दै भ्रम र अफवाहमा नपर्न मतदातालाई आग्रह गरे । ‘म भाषणभन्दा काममा विश्वास गर्छु । शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा भएका कामहरू यसको प्रमाण हुन्,’ उनले भने ।

सभामा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । बाजागाजा र झाँकीसहित स्वागत गर्न पुगेका स्थानीयवासीहरूले निधिलाई ‘विकासका अग्रदूत’ भन्दै यसपटक भारी मतले विजयी गराउने प्रतिबद्धता जनाए ।

एकै दिन चार स्थानमा सम्पन्न सभामा देखिएको जनसहभागिताले नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ को प्रचार अभियानलाई थप उत्साह दिएको छ ।

निधिको उम्मेदवारीपछि क्षेत्रमा कांग्रेसप्रति सकारात्मक माहोल बन्दै गएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन् ।