प्रादेशिक ललितकला प्रदर्शनी आजदेखि सुरु

जनकपुरधाम, २५ माघ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आइतबार विशेष समारोहबीच उद्घाटन गरिएको हो ।
प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै उनले मधेशका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गरे ।
प्रदेश प्रमुख कर्णले भने, ‘ललितकला कुनै क्षेत्रको पहिचान र सभ्यताको प्रतिबिम्ब हो । मधेश प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको गौरव बढाइरहेका छन् । यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् ।’
उनले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रदर्शनीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा भएपछि आजदेखि सुरु गरिएको बताए ।
प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका छन् ।
आयोजकका अनुसार प्रदर्शनीले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
आयोजक संस्थाले सबै कला प्रेमी, कलाकार तथा सरोकारवालालाई प्रदर्शनी अवलोकन गरी मधेशी कला प्रवर्द्धनमा योगदान दिन आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


