महोत्तरी, २५ माघ । मिथिलाको ऐतिहासिक तथा धार्मिक महत्व राख्ने मिथिला परिक्रमा २०८२ लाई शान्तिपूर्ण र धार्मिक मर्यादाका साथ सम्पन्न गराउन महोत्तरी जिल्लामा मासु तथा मदिरा बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनाअनुसार परिक्रमा रुट र पडाव स्थल वरिपरि १ किलोमिटर भित्र फागुन ७ देखि १२ गतेसम्म मासु तथा मदिरा बिक्री र सेवनमा रोक लगाइनेछ ।

प्रभावित स्थानहरूमा मटिहानी, जलेश्वर, महोत्तरी गाउँपालिका, बलवा, लोहारपट्टी र भंगहाका प्रमुख पडाव स्थलहरू पर्छन् ।

जिल्ला प्रशासनका अनुसार उक्त अवधिभित्र कुनै पनि होटल, पसल वा खुला क्षेत्रमा मासु मदिरा बिक्री र सेवन गर्न पाइने छैन ।

परिक्रमा मार्गमा पर्ने मासु पसलहरू अनिवार्य रूपमा बन्द रहनुपर्नेछ । नियम उल्लंघन भएमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कानुनी कारबाही गरिने छ ।

सहायक प्रमुख जिल्ला अधिकारीले सबै व्यवसायी, सर्वसाधारण र सरोकारवालालाई धार्मिक सहिष्णुता र मिथिलाको परम्परालाई सम्मान गर्दै नियम पालना गर्न अनुरोध गरेका छन् ।