जनकपुरधाम, २५ माघ । मधेशी आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष जीवछ साहले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदनमा मधेशी समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, समावेशी विकास तथा नीति निर्माणमा आयोगले गरेका पहल, कार्यक्रम र उपलब्धिहरू समेटिएको बताइएको छ ।

प्रदेश प्रमुख कर्णले आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिवेदनमा समेटिएका सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रतिवेदनले मधेशी समुदायको समग्र विकास र अधिकार प्रवर्द्धनमा राज्यका निकायहरूलाई मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा प्रदेश सरकारका अधिकारी, आयोगका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।