सर्लाही, २५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्लाहीको मलङ्गवा नगरपालिकाका केही वडामा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार मलङ्गवा नगरपालिका–२, ३, ४, ८, ९ र १० मा अपेक्षाभन्दा बढी बालबालिकाले खोप सेवा लिएका छन् ।

उनका अनुसार ती वडामा करिब १० हजार ३२ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ । जबकि प्रभावित क्षेत्रमा सात हजार ५१९ बालबालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको थियो ।

यसअनुसार लक्ष्यभन्दा दुई हजार ४५२ जना बढी बालबालिकाले खोप प्राप्त गरेका छन् ।

डा. गौतमले ती वडामा अनुमानभन्दा बढी बालबालिका रहेको पाइएकाले लक्ष्यभन्दा बढीलाई खोप दिनुपरेको बताए । ‘हाम्रो प्रारम्भिक तथ्यांकभन्दा धेरै बालबालिका भेटिए । त्यसैले, सबैलाई खोप दिन सफल भयौं,’ उनले भने ।

दादुराको संक्रमण फैलिएको क्षेत्रमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

हालसम्म उक्त क्षेत्रमा सात जनामा दादुरा पुष्टि भएको छ । संक्रमण थप फैलिन नदिन प्रभावित वडासँग जोडिएका अन्य वडामा समेत खोप अभियान विस्तार गरिएको डा. गौतमले जानकारी दिए ।

गत पुस २५ गते मलङ्गवा नगरपालिका–३ र ४ मा दादुराको संक्रमण देखिएपछि विशेष खोप अभियान सञ्चालन गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले समयमै खोप अभियान सञ्चालन गर्दा संक्रमण नियन्त्रणमा सहयोग पुगेको जनाएको छ ।

स्थानीय तहसँगको समन्वयमा आगामी दिनमा पनि नियमित अनुगमन र खोप कार्यक्रमलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ ।