जनकपुरधाम, २४ माघ । नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश सभा एक दिन अघि सारेको छ ।

यसअघि फागुन ७ गतेका लागि तय गरिएको सभा अब फागुन ६ गते (बुधबार) जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने भएको हो ।

शनिबार बसेको मधेश प्रदेश कार्यसमिति बैठकले सभाको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले सभालाई प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसमेत तोकेको छ ।

निर्णयअनुसार सभाको प्रचारप्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई दिइएको छ भने मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई तोकिएको छ ।

मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख गुप्ताका अनुसार सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक पक्षलाई थप सुदृढ बनाउने विषयमा व्यापक छलफल गरिएको छ ।

सभालाई ऐतिहासिक बनाउने लक्ष्यसहित मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट ठूलो संख्यामा कार्यकर्ता तथा समर्थक सहभागी गराउने निर्णय गरिएको उनले जानकारी दिए ।

सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।