रामजानकी क्रिकेट स्टेडियम बन्नै पर्छ : विमलेन्द्र निधि

जनकपुरधाम, २४ माघ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा निर्माणाधीन श्रीरामजानकी क्रिकेट स्टेडियमको विषयमा महत्वपूर्ण धारणा व्यक्त गरेका छन् ।
शनिबार चुनावी प्रचारका क्रममा वडा भेलालाई सम्बोधन गर्दै नेता निधिले क्रिकेट स्टेडियम निर्माणलाई प्राथमिकतामा राख्दै आफूले यस विषयमा भारतीय दूतावास तथा संघीय र प्रदेश सरकारका अर्थमन्त्रीसँग छलफल गरिसकेको बताए ।
उनले भने, ‘मैले भारतीय दूतावास र दुबै अर्थमन्त्रीसँग कुरा गरिसकेको छु । जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्नै पर्छ ।’
निधिले जनकपुरधामलाई खेलकुद पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्टेडियम महत्वपूर्ण पूर्वाधार हुने उल्लेख गरे । यसले युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।
उनले आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण कार्यलाई तीव्रता दिइने प्रतिबद्धता जनाए । ‘यो खेल मैदान मात्र नभई जनकपुरधामको पहिचान र गौरवसँग जोडिएको परियोजना हो,’ उनले थपे ।
स्थानीय बासिन्दा र खेलप्रेमीहरूले लामो समयदेखि स्टेडियम निर्माणको माग गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


