रौतहटमा एचपीभी खोप अभियान दुई चरणमा सञ्चालन

रौतहट, २३ माघ । महिलामा देखिने पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न रौतहट जिल्लामा एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँगको अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी गराइएको हो । कार्यक्रम राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. सुरेश शुक्लाले पाठेघरको मुखको क्यान्सरको वर्तमान अवस्था, जोखिमका कारण तथा एचपीभी खोपको प्रभावकारिताबारे प्रस्तुति दिएका थिए । उनले किशोरावस्थामै खोप लगाउँदा भविष्यमा हुने क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्ने बताए ।
स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका किशोरीहरूलाई समेत खोप सेवा उपलब्ध गराइने उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अभियान सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । सबै पक्षको समन्वय र सहकार्यबाट अभियान प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य कार्यालयका अनुसार खोप सेवा पहिलो चरणमा माघ २५ गतेदेखि फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही र राजपुर नगरपालिकामा सञ्चालन हुनेछ ।
दोस्रो चरण फागुन १ गतेदेखि चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया, राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा सञ्चालन गरिनेछ ।
कार्यक्रमका सभापति राम अयोध्या राय यादवले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि एचपीभी खोप अभियान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने बताए ।
स्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका सबै किशोरीहरूलाई नजिकको खोप केन्द्रमा पुगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


