जनकपुरधाम, २३ माघ । फागुन ५ गतेदेखि सुरु हुन लागेको तीनदिने जनकपुर लिटरेचर आर्ट एण्ड ड्रामा फेस्टिवलको तयारी स्वरूप विद्यालयस्तरीय कविता छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

फेस्टिवल अगावै विभिन्न सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिँदै आएको क्रममा यसअघि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेको छ । आयोजकका अनुसार शनिबार नृत्य प्रतियोगिता आयोजना गरिनेछ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले युवाहरूको प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताए ।

शुक्रबार सम्पन्न कविता प्रतियोगितामा दुई दर्जनभन्दा बढी छात्र छात्राहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले साहित्य, संस्कृति, समाज र पहिचानका विषयमा आधारित कविता प्रस्तुत गरेका थिए ।

आयोजकका अनुसार छनोटमा परेका उत्कृष्ट प्रतिभाहरूलाई फेस्टिवलको मुख्य कार्यक्रममा प्रस्तुति दिने अवसर प्रदान गरिनेछ ।

तीनदिने फेस्टिवलमा साहित्य, कला र नाट्य क्षेत्रका विभिन्न कार्यक्रमहरू समावेश गरिने तयारी गरिएको आयोजकले जनाएको छ ।