जनकपुरधाम, २३ माघ । समाजसेवाको नाममा भाषण धेरै हुने तर व्यवहारमा कमै देखिने वर्तमान परिवेशमा जनकपुरधामका समाजसेवी डा. राजीव झा भने फरक पहिचान बनाउन सफल भएका छन् ।

निरन्तर सेवामूलक कार्यमार्फत हजारौँ विपन्न तथा असहाय नागरिकको जीवनमा आशा र राहत पुर्‍याउँदै आएका झा आज राजनीतिक यात्रामा पनि जनताको भरोसाको केन्द्र बन्दै गएका छन् ।

जनकपुरधाममा स्थापना गरिएको ‘क्लोथ बैंक’ उनका सामाजिक सेवाको मुख्य आधार हो । यस बैंकमार्फत उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय, विपन्न तथा घरविहीन नागरिकलाई निःशुल्क कपडा सहयोग गरिसकेका छन् ।

चिसो, गर्मी तथा वर्षा जुनसुकै मौसममा पनि कसैलाई कपडाको अभावले पीडा नहोस भन्ने उद्देश्यसहित सुरु गरिएको यो अभियान आज मानवीय सेवाको उदाहरण बनेको छ ।

क्लोथ बैंक मात्र नभई बाढी, आगलागी, शीतलहरलगायत विभिन्न प्राकृतिक विपद्का समयमा पनि राजीव झा स्वयं प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गर्दै आएका छन् ।

पीडितको दुःख नजिकबाट बुझेर तत्काल सहयोग पुर्‍याउने उनको शैलीले उनलाई स्थानीय स्तरमा विश्वासिलो व्यक्तित्वको रूपमा स्थापित गरेको छ ।

जनकपुरधाममा पहिलोपटक व्यवस्थित रूपमा कपडा बैंक स्थापना गरी लत्ता–कपडा, औषधि तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने श्रेय पनि उनलाई नै जान्छ । सामाजिक उत्तरदायित्वमा सधैं अग्रसर रहने उनी कठिन परिस्थितिमा समेत सेवाबाट पछि नहट्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

समाजसेवाका क्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आएका छन् । विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, शुल्क सहयोग, छात्रवृत्ति तथा प्रोत्साहन कार्यक्रममार्फत उनी बालबालिकाको भविष्य निर्माणमा योगदान पुर्‍याइरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा भने उनी निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउने सेवाका कारण परिचित छन् । जनकपुरधाम मात्र नभई जिल्लाका विभिन्न स्थानमा आपतकालीन अवस्थामा बिरामीलाई अक्सिजन उपलब्ध गराउँदै उनले धेरैको ज्यान जोगाउन सहयोग पुर्‍याएका छन् ।

युवा सशक्तीकरण, सामाजिक सद्भाव, सरसफाइ अभियान, वातावरण संरक्षण तथा महिला–बालबालिकाको अधिकारका विषयमा पनि राजीव झा निरन्तर सक्रिय रहँदै आएका छन् । समाजका हरेक वर्गलाई समेटेर अघि बढ्ने उनको सोच र व्यवहारले उनलाई जनप्रिय बनाएको स्थानीयवासी बताउँछन् ।

उनको सेवाको मूल आधार राजनीति नभई मानवता र जिम्मेवारी हो । तर, सेवा नै समाज परिवर्तनको सबल माध्यम हो भन्ने विश्वासका साथ उनी अहिले राजनीतिक यात्रामा पनि अघि बढेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव झाले घरविहीन, विपन्न तथा सीमान्तकृत समुदायमा विशेष लगानी गर्दै आएका छन् । कपडाको अभाव, गरिबी र अभावका कारण पीडित परिवारका लागि उनी ‘न्यानो भरोसा’ बनेर उभिएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

जनकपुरधामका व्यवसायी, सामाजिक अगुवा तथा ज्येष्ठ नागरिकहरूका अनुसार झा जनताको दुःख नजिकबाट बुझ्ने, जनताकै बीच बसेर सेवा गर्ने नेताका रूपमा परिचित छन् । यही कारण उनीप्रति जनविश्वास बढ्दै गएको उनीहरूको भनाइ छ ।

आफ्नो उद्देश्यबारे बोल्दै राजीव झाले भने, ‘सेवाबाट सुरु भएको मेरो यात्रा अब जनसेवामै निरन्तरता पाओस् भन्ने चाहना छ । समाजका हरेक वर्गका लागि काम गर्ने संकल्प बोकेको छु । जनकपुरधामको उज्यालो भविष्यका लागि आशाको नाम बन्न चाहन्छु ।’

आज जब जनकपुरधाम इमान्दार, सेवामुखी र जनउत्तरदायी नेतृत्वको खोजीमा छ, त्यही आवश्यकता पूरा गर्ने पात्रका रूपमा राजीव झा देखिन थालेका छन् ।

क्लोथ बैंकदेखि विपद् व्यवस्थापन, शिक्षा–स्वास्थ्यदेखि सामाजिक अभियानसम्म उनको योगदानले उनलाई केवल उम्मेदवार मात्र नभई सेवाभावको प्रतीक बनाएको छ ।

जनतासँग जोडिएको सेवा, व्यवहारमा देखिएको प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्वले उनको राजनीतिक यात्रालाई पनि बलियो बनाउँदै लगेको देखिन्छ ।

अब आगामी निर्वाचनमार्फत जनताले उनलाई कुन रूपमा अगाडि बढाउँछन् भन्ने चासो सबैमा बढ्दै गएको छ ।