धनुषामा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिने

जनकपुरधाम, २३ माघ । धनुषा जिल्लामा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार तथा राजनीतिक दलमाथि आवश्यक कारबाही गरिने जनाएको छ ।
कार्यालयका अनुसार आचारसंहिता उल्लङ्घन गरेमा पहिलो चरणमा सचेत गराइने, प्रचार सामग्री जफत गरिने, स्पष्टीकरण सोधिने तथा गम्भीर अवस्थामा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजसमेत गर्न सकिने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बुद्धराम मल्ललाई अधिकृत तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आयोजित छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले आचारसंहिता राजनीतिक दलहरूको सहमतिमा बनेको उल्लेख गर्दै यसको उल्लङ्घनले उम्मेदवार मात्र नभई सम्बन्धित दलको प्रतिष्ठामा समेत नकारात्मक असर पार्ने बताए ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उम्मेदवार, सरकारी कर्मचारी, राजनीतिक दल र आम नागरिक सबैले आचारसंहिता पालना गर्नुपर्ने दायित्व रहेको बताउँदै जिल्लामा माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको जानकारी दिए ।
छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


