पर्सा, २३ माघ । सिद्धार्थ दियालो वीरगञ्जले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको थियो ।

कार्यक्रमअन्तर्गत करिब ८० पिन्ट रगत संकलन गरिएको आयोजक संस्थाले जनाएको छ ।

रक्तदानसँगै सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गरिएको थियो । आँखा परीक्षण शिविरबाट स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

अभियानमा होटलका F&B Executive रोहन कुमार सिंहसहित कर्मचारीहरूको सहभागिता रहेको थियो । उनीहरूले सामाजिक उत्तरदायित्वप्रति संस्थाको प्रतिबद्धता झल्किने गरी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

आयोजकका अनुसार समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

यस किसिमका गतिविधिले समुदायसँगको सम्बन्ध मजबुत बनाउनुका साथै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।