महोत्तरीको प्रकौलीमा १२० करोड लगानीमा पाँचतारे होटल निर्माण हुँदै

महोत्तरी, २३ माघ । महोत्तरीको जलेश्वर नगरपालिकास्थित प्रकौलीमा १२० करोडको लगानीमा अत्याधुनिक पाँचतारे होटल तथा क्यासिनो निर्माण हुने भएको छ ।
‘साङ्ग्रिला प्रिमियर रिसोर्ट एण्ड क्यासिनो’ नाम दिइएको उक्त परियोजना सत्या समूहको लगानीमा सञ्चालन हुन लागेको हो ।
मधेश प्रदेशको पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासलाई टेवा पुर्याउने उद्देश्यसहित निर्माण हुन लागेको यस होटलमा अन्तरराष्ट्रिय मापदण्डका ७५ वटा लक्जरी कोठा रहनेछन् ।
साथै, विदेशी पर्यटकलाई लक्षित अन्तरराष्ट्रियस्तरको क्यासिनो, विवाह तथा कर्पोरेट कार्यक्रमका लागि आधुनिक ब्याङ्क्वेट हल र प्रिमियम क्लबसमेत निर्माण गरिने जनाइएको छ ।
होटल निर्माण सम्पन्न भएपछि स्थानीयस्तरमा २०० भन्दा बढी युवाले प्रत्यक्ष रोजगारी पाउने सत्या समूहकी प्रबन्ध निर्देशक धर्मा मण्डलले जानकारी दिए ।
उनका अनुसार झण्डै २२ कट्ठा क्षेत्रफलमा निर्माण हुने होटल परियोजनामा ७० प्रतिशत लगानी बैंक कर्जाबाट र बाँकी ३० प्रतिशत समूहको स्वपुँजीबाट व्यवस्थापन गरिनेछ ।
हाल होटल निर्माणका लागि आवश्यक जमिन खरिद तथा नाप–नक्सा प्रक्रिया पूरा भइसकेको र चाँडै निर्माण कार्य सुरु हुने तयारी गरिएको मण्डलले बताए ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत परियोजनाबारे जानकारी दिँदै उनले जनकपुर, जलेश्वर तथा आसपासका क्षेत्रलाई पर्यटन, बसोबास र मनोरञ्जनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअनुसार होटल निर्माण अघि बढाइएको स्पष्ट पारे ।
यस परियोजना सञ्चालनमा आएपछि स्थानीय व्यापार, सेवा क्षेत्र तथा पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ ।
व्यवसायी तथा स्थानीय बासिन्दाले पनि होटल निर्माणले क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


