जनकपुरधाम, २३ माघ । धनुषा जिल्लाको देउरी परवाहाबाट पौडेश्वर जाने सडकखण्डमा एक अपरिचित महिलाको शव फेला परेको छ ।

स्थानीयवासीले शुक्रबार बिहान सडकछेउमा महिलाको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

सूचनापछि इलाका प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ ।

प्रहरीले मृतकको पहिचानका लागि सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

मृतक महिलालाई चिन्ने वा यसबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।