जनकपुरधाम, २२ माघ । जनकपुरधामस्थित मोनास्टिक स्कूल/कलेजमा बिहीबार वार्षिक खेलकुद महोत्सव २०८२ को उद्घाटन भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोह सांस्कृतिक प्रस्तुतिहरूले सुसज्जित थियो भने कक्षा ७ का विद्यार्थीहरूले विशेष सांस्कृतिक कार्यक्रममार्फत उपस्थित दर्शकमा उत्साह र उमङ्ग थपेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण मोनास्टिकका गर्वित एनसीसी क्याडेटहरूले प्रस्तुत गरेको ‘मार्च पास्ट’ थियो । त्यसमा विद्यार्थीहरूले अनुशासन, नेतृत्व र टोलीभावको उत्कृष्ट प्रदर्शन गरे ।

उद्घाटन समारोहको अवसरमा मोनास्टिक स्कूल/कलेजका निर्देशक डा. सोनु साहले भने, ‘खेलकुद शारीरिक क्षमता विकासको माध्यम मात्र नभई विद्यार्थीहरूमा सहकार्य, अनुशासन र मनोबल बढाउने महत्वपूर्ण साधन हो । हामीले यस वर्षका खेलकुद कार्यक्रममार्फत विद्यार्थीहरूमा खेल भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास लिएका छौं ।’

यस महोत्सवमा कक्षा ७ देखि १२ का विद्यार्थीहरूका लागि ट्र्याक एन्ड फिल्ड प्रतियोगिता संचालनमा छ । १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, ४×१०० मिटर रिले दौड, शटपुट, भाल्युम फ्याँक, लङ्ग जम्प र ट्रिपल जम्प लगायतका प्रतियोगिताहरू सुरु भइसकेका छन् ।

स्कूलले सबै खेलाडीहरूलाई उज्जवल प्रदर्शनको शुभकामना दिएको छ । यस वर्षको खेलकुद महोत्सवले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेको छ ।