पर्सामा ६२ मतदानस्थल अति संवेदनशील

पर्सा, २२ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ ।
जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये ६२ वटा अति संवेदनशील, ८५ वटा संवेदनशील तथा २० वटा कम संवेदनशील सूचीमा राखिएका छन् ।
जिल्लामा दुई अस्थायी सहित कुल ४ सय ४३ मतदान केन्द्र रहेका छन् । चार निर्वाचन क्षेत्र रहेको पर्साको क्षेत्र नम्बर १ मा ३४, क्षेत्र २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ मतदानस्थल रहेका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत निरीक्षण तीव्र पारेको छ । हालसम्म ६० वटा मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायको संयुक्त टोलीले दैनिक रूपमा मतदानस्थल तथा केन्द्रको अनुगमन गरिरहेको छ ।
निरीक्षणका क्रममा भौतिक अवस्था, सम्भावित सुरक्षा चुनौती तथा आवश्यक तयारीको मूल्यांकन भइरहेको प्रजिअ दाहालले जानकारी दिए ।
उनका अनुसार निरीक्षणबाट देखिएका जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिमा आवश्यक परिमार्जन गरिएको छ भने सुरक्षा निकायबीचको समन्वय पनि थप सुदृढ बनाइएको छ ।
भारतसँग जोडिएको करिब १ सय ७ किलोमिटर खुला सीमा रहेको पर्सामा निर्वाचन अवधिभर सीमा क्षेत्रमा कडा निगरानी गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताए ।
उनका अनुसार आवश्यक जनशक्ति परिचालन गर्दै सीमा तथा संवेदनशील क्षेत्रमा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।
यस्तै, जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार तथा समर्थकलाई भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग नगर्न सचेत गराइएको उनले बताइन् ।
सुरक्षा संयन्त्रलाई मजबुत बनाउँदै निर्वाचन व्यवस्थापनमा जोड दिइएकाले पर्सामा आगामी निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


