जसपा नेपालद्वारा लहानका उपमेयर महतोसहित ७ नेता निष्कासित

सिरहा, २२ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोसहित सात जना नेतामाथि कारबाही गरेको छ ।
पार्टीको नीति, विधान र अनुशासन विपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।
जसपा नेपालको सिरहा जिल्ला कार्यसमितिले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार लहानका उपमेयर महतोसँगै नरहा गाउँपालिकाका अध्यक्षका प्रत्याशी तथा जिल्ला अधिवेशन प्रतिनिधि रामसोगारथ यादव, हरिनारायण यादव र महेश यादवलाई पनि पार्टीबाट हटाइएको छ ।
त्यसैगरी, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश गोइत यादव, सोही वडाका पार्टी वडा समिति अध्यक्ष योगेन्द्र झा र लहान नगर समिति सचिव रामऔतार महतो पनि निष्कासनमा परेका छन् ।
जिल्ला अध्यक्ष अशोक कुमारद्वारा जारी विज्ञप्तिमा पार्टी हितविपरीत गतिविधि, अनुशासनहीनता तथा संगठन कमजोर पार्ने कार्यमा संलग्न रहेको निष्कर्षसहित कारबाही गरिएको उल्लेख गरिएको छ ।
पार्टी नेतृत्वले आगामी दिनमा संगठनलाई थप सुदृढ र अनुशासित बनाउने उद्देश्यले यस्ता कदम चालिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


