जनकपुरधाममा माघ २५ देखि एचपीभी खोप अभियान, ४ हजारभन्दा बढी किशोरी लाभान्वित हुने

जनकपुरधामधाम, २२ माघ । महिलामा हुने पाठेघरको क्यान्सरबाट बचाउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकामा माघ २५ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।
नगरप्रमुख मनोज कुमार साहको अध्यक्षतामा बसेको बैठकले माघ २५ देखि फागुन १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियानअन्तर्गत ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई निःशुल्क खोप प्रदान गरिने जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाकी कर्मचारी सुनिता यादवका अनुसार एचपीभी खोपले पाठेघरको क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले लक्षित समूहका सबै किशोरीलाई खोप लगाउने लक्ष्य लिइएको छ ।
उपमहानगरपालिकाभित्र सो उमेर समूहका करिब ४ हजार २ सय ८९ जना किशोरी रहेको तथ्यांक छ । अभियानलाई प्रभावकारी बनाउन नगरभित्रका २५ वटै वडाका विद्यालयमा पुगेर खोप प्रदान गरिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साहले एचपीभी खोप महिलाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि किशोरी खोपबाट वञ्चित नहुने गरी अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
उपमहानगरपालिकाले अभिभावक, विद्यालय प्रशासन तथा सरोकारवाला निकायलाई अभियान सफल बनाउन सहयोग गर्न आग्रहसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


