महोत्तरी, २२ माघ । मिथिलाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मिथिला माध्यमिकी परिक्रमा लाई व्यवस्थित, सुरक्षित र मर्यादित ढंगले सम्पन्न गराउन महोत्तरीमा सरोकारवाला निकायबीच समन्वय बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीको सभाहलमा बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले परिक्रमा अवधिभर सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात व्यवस्थापन तथा धार्मिक मर्यादा कायम गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकमा मटिहानी मठका महन्त डा. रविन्द्र दास वैष्णव, विभिन्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकले महोत्तरी जिल्लाभित्रको परिक्रमा मार्ग र समयतालिका समेत निर्धारण गरेको छ । तय तालिकाअनुसार फागुन ७ गते मटिहानी नपा–७ स्थित नेपाल–भारत सीमाबाट प्रवेश गरी फागुन १२ गते कञ्चनवन हुँदै धनुषा प्रस्थान गरिनेछ । यस क्रममा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन प्रमुख पड़ाव स्थल रहनेछन् ।

परिक्रमा अवधिभर भीडभाड र सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाबाट पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने निर्णय भएको छ । भीड बढी हुने स्थानमा सादा पोसाकका प्रहरी र मोबाइल गस्तीसमेत परिचालन गरिनेछ ।

श्रद्धालुहरूको स्वास्थ्य सुरक्षाका लागि प्रत्येक प्रमुख पड़ाव स्थलमा २४ घण्टा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । प्रादेशिक अस्पताल जलेश्वर तथा स्थानीय तहको सहकार्यमा औषधि, चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

सम्बन्धित नगरपालिकाहरूले अस्थायी शौचालय, ट्याङ्करमार्फत खानेपानी तथा फोहोर व्यवस्थापनको व्यवस्था मिलाउनेछन् । साथै, सडक मर्मत र विद्युत् आपूर्ति फागुन ७ अघि नै पूरा गरिनेछ ।

परिक्रमाको धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै मार्ग र पड़ाव स्थलमा कुनै पनि राजनीतिक सभा, प्रदर्शन, जुलुस वा धर्ना गर्न प्रतिबन्ध लगाइएको छ । अन्य धार्मिक वा समूहगत कार्यक्रमसमेत अनुमति नदिइने निर्णय गरिएको छ ।

मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन आसपास १ किलोमिटर क्षेत्रभित्र मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइनेछ । उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।

फागुन ११ गते कञ्चनवनमा हुने होली उत्सवका क्रममा अत्यधिक भीड हुने भएकाले विशेष सुरक्षा घेरा, स्वयंसेवक परिचालन तथा स्थानीय समितिसँग समन्वय गरी व्यवस्थापन गरिनेछ ।

परिक्रमा अवधिमा मूल्यवृद्धि र कृत्रिम अभाव रोक्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नियमित बजार अनुगमन गरिने निर्णयसमेत गरिएको छ ।

प्रशासनका अनुसार सबै निकायबीच सहकार्य र समन्वयमार्फत यस वर्षको मिथिला माध्यमिकी परिक्रमा शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने लक्ष्य लिइएको छ ।