मधेश प्रदेश सभाको आठौँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

जनकपुरधाम, २१ माघ । मधेश प्रदेश सभाको आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित प्रदेश सभा सचिवालय परिसरमा बुधबार सम्पन्न भएको छ ।
मधेश प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संघीयताको मर्मअनुसार प्रदेश सरकार र प्रदेश सभाले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
संघीयता स्थापना गर्न ठूलो संघर्ष भएको स्मरण गर्दै उनले संघीय प्रणालीलाई सुदृढ बनाउन प्रभावकारी कानुन निर्माणमा जोड दिन आग्रह गरे ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन संघ सरकारले प्रहरी तथा निजामती सेवा ऐन शीघ्र ल्याउनुपर्ने बताए ।
संघीयताविरुद्ध हुने गतिविधि रोक्न आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान प्रदेश सरकार सुशासन, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको दाबी गरे ।
उनले चालु आर्थिक वर्षका लागि स्वीकृत सबै योजनाहरू ठेक्कामार्फत कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।
कार्यक्रममा निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संघीयतामाथि विभिन्न बहानामा भइरहेका षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री जितेन्द्र सोनारले विगतमा संघीयताको सबलीकरणका लागि आवश्यक काम नहुँदा चुनौती बढेको उल्लेख गर्दै संघीयता कसैले समाप्त गर्न नसक्ने स्पष्ट पारे ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई आवश्यक कानुन र आर्थिक विकासमा संघ सरकारको सहयोग अपेक्षाअनुसार नभएको गुनासो गरे ।
सभामुख रामअशिष यादवले प्रदेश सभाले संघीयता सबलीकरणका लागि थुप्रै कानुन निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा सुशासन र समृद्धिका लागि थप प्रयास गरिने बताए ।
कार्यक्रममा उत्कृष्ट प्रदेश सभा सदस्यका रूपमा नेपाली कांग्रेसका रामसरोज यादवलाई सम्मान गरियो । उनलाई प्रदेश प्रमुख कर्णले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
त्यस्तै, उत्कृष्ट कर्मचारीका रूपमा लेखा शाखाका पुरुषोत्तम मिश्र, अविनाश कर्ण, मुकेशकुमार यादव तथा कार्यालय सहयोगी महेन्द्र यादवलाई सम्मान गरियो ।
कार्यक्रममा उपसभामुख बबिता राउत ईशर, अर्थमन्त्री महेशप्रसाद यादव, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पट्टेल, खेलकुद तथा समाजकल्याणमन्त्री बसन्त कुशवाहा, श्रम तथा यातायातमन्त्री मनिष सुमनलगायतले मन्तव्य व्यक्त गरे ।
यस अवसरमा मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा अवधेश पट्टेल, चन्देश्वर पूर्वे, दिनेश पूर्वेलगायत रहेका छन् ।
कार्यक्रममा मैथिली भाषाका गीत, संगीत तथा नृत्य प्रस्तुत गरी सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिएको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

