जनकपुरधामका सार्वजनिक स्थल दूषित नगर्न उपमहानगरपालिकाको आग्रह

जनकपुरधाम, २१ माघ । जनकपुरधाम उपमहानगरपालिकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको शहरलाई सफा, स्वच्छ र सुन्दर राख्न सम्पूर्ण नगरवासीलाई सार्वजनिक स्थल दूषित नगर्न आग्रह गरेको छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा सार्वजनिक तथा सांस्कृतिक क्षेत्रमा फोहोर, ढल, पानी, दिशा–पिसाब, गुट्खा, पिकलगायतका फोहोर नफाल्न अनुरोध गरिएको छ ।
यस्ता गतिविधिले शहरको सुन्दरता र पहिचानमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ ।
सूचनामा जनकपुरधाम विश्वभर धार्मिक, सांस्कृतिक र ऐतिहासिक शहरका रूपमा चिनिएको भन्दै यसको सरसफाइ र संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व भएको जनाइएको छ ।
उपमहानगरपालिकाका अनुसार शहर सफा राख्न स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको छ ।
सरसफाइमा लापरवाही गरे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनीसमेत सूचनामा उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले आगामी दिनमा सरसफाइ अभियानलाई अझ प्रभावकारी बनाउँदै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

