—श्याम कुमार ठाकुर
सिरहा, २१ माघ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सिरहा जिल्लामा ६५० जना नेपाली सेना परिचालन गरिएको छ ।

एकीकृत सुरक्षा योजना–२०८२ अनुसार जिल्लाभर निर्वाचन सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय बढाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

सुरक्षा योजनाअनुसार नेपाली सेनाले बाहिरी सुरक्षा घेराको जिम्मेवारी सम्हाल्नेछ । मतदानस्थलको भित्री सुरक्षामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी खटिनेछन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी बल नेपाल परिचालित रहनेछ ।

आवश्यकताअनुसार संयुक्त गस्ती, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक प्रतिक्रिया टोलीसमेत सक्रिय रहने प्रशासनले जनाएको छ ।

निर्वाचनलाई लक्षित गर्दै सम्भावित जोखिमको मूल्याङ्कन गरी रणनीतिक स्थानहरूमा सुरक्षा उपस्थिति बढाइएको छ । मतपत्र छपाइदेखि ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका स्थानान्तरण तथा मतगणनास्थलसम्म विशेष सतर्कता अपनाइने बताइएको छ ।

सिरहाका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरी सोहीअनुसार सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको प्रशासनको भनाइ छ ।

सुरक्षा निकायहरूले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणसँग सहकार्यको अपिल गरेका छन् ।

स्थानीय प्रशासनले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।