सिरहा, २० माघ । भारतको बिहारमा जागिरको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाइ रकम असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ भेडियाका २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ पररिया चोकका २२ वर्षीय प्रशान्त चौधरी हुन् ।

कल्याणपुर–७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत भारतको बोधगयास्थित एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर गत पुस २० गते मरिकलाई बोधगया पुर्याइएको थियो । त्यहाँ उनलाई एउटा होस्टलमा बन्धक बनाइ कुटपिट तथा मानसिक यातना दिइएको थियो । मरिकको मोबाइल र शैक्षिक प्रमाणपत्र खोसेर उनीहरूलाई ज्यान मार्ने धम्की दिएका थिए ।

प्रतिवादीहरूले मरिकको परिवारबाट क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुलेका थिए भने मरिकसँग रहेको नगद ३० हजार भारु समेत लुटेका थिए ।

तर, बन्धक बनाइएको ठाउँबाट तालिमको नाममा आपराधिक गतिविधि सिकाउन थालेपछि मरिक ज्यान जोगाएर नेपाल फर्किन सफल भएका थिए । उनले माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपछि प्रहरीले खोजतलास तीव्रता दियो ।

सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार सुरज मुखियालाई माघ १६ गते कल्याणपुरबाट र प्रशान्त चौधरीलाई माघ १७ गते लहानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैमाथि शरीर बन्धक सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।