पर्सा, २० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित पर्सा जिल्लाका दुई जना स्थानीय तहका प्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरामाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेलीले मंगलबार औपचारिक रूपमा एमालेको सदस्यता ग्रहण गरेका हुन् ।

जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दुवै नगरप्रमुखलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा एमालेका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

राजनीतिक वृत्तमा यी दुवै नगरप्रमुख पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव निकट मानिँदै आएका छन् । यादवको राजनीतिक यात्रासँगै उनीहरू पनि विभिन्न चरणमा पार्टी परिवर्तन गर्दै आएको चर्चा हुँदै आएको छ ।

यसअघि पूर्वमन्त्री यादवले जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नयाँ दल गठन गर्दा पनि सिंह र साह यादवकै पक्षमा उभिएका थिए ।

एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासलाई नयाँ उचाइमा पुर्याउने र जनअपेक्षाअनुसार काम गर्न एमालेसँग सहकार्य गर्ने निर्णय गरेको बताए । उनले राष्ट्रिय राजनीतिमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी परिवर्तन गरेको उल्लेख गरे ।