प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा अभ्यास

जनकपुरधाम, २० माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन सुरक्षासम्बन्धी संयुक्त सुरक्षा अभ्यास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायको समन्वयमा आयोजित कार्यक्रममा निर्वाचन सुरक्षा, मतदान केन्द्र र मतदान स्थलको सुरक्षा व्यवस्था, नमुना मतदान, भीड नियन्त्रण तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे व्यवहारिक अभ्यास गरिएको हो ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा प्रशासनिक अधिकारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा मापदण्ड, मतदाताको सुरक्षामा ध्यान दिनुपर्ने पक्ष तथा निष्पक्षता कायम राख्ने उपायबारे प्रशिक्षण दिइएको थियो ।

अभिमुखीकरणका क्रममा मतदान केन्द्रमा हुने सम्भावित विवाद, अवाञ्छित गतिविधि तथा भीड व्यवस्थापनलाई कसरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने भन्ने विषयमा विशेष जोड दिइएको थियो । साथै, नमुना मतदानमार्फत मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित बनाउने अभ्यास गरिएको थियो ।
कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले यस्तो अभ्यासले वास्तविक निर्वाचनको समयमा समन्वय र कार्यक्षमता बढ्ने बताए । उनीहरूका अनुसार संयुक्त अभ्यासले विभिन्न सुरक्षा निकायबीच सहकार्य सुदृढ भई चुनौतीपूर्ण परिस्थितिमा समेत प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्नेछ ।
मतदातालाई ढुक्क र सुरक्षित महसुस गराउने उद्देश्यका साथ सुरक्षा व्यवस्था अझ मजबुत बनाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

