जनकपुरधाम, २० माघ । प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ मतदान गर्ने प्रयोजनका लागि प्रारम्भिक अस्थायी मतदाता नामावली सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि, २०८२ अनुसार तयार पारिएको नामावली प्रदेश निर्वाचन कार्यालयमा प्रकाशन गरिएको हो ।

नामावलीमा नाम छुटेका व्यक्तिहरूले तथा त्रुटि भएका विवरण सच्याउन चाहनेले तोकिएको ढाँचामा निवेदन पेश गर्न सक्नेछन् ।

प्रदेश निर्वाचन अधिकारी रोम बहादुर महतका अनुसार अन्तिम अस्थायी मतदाता नामावलीमा नाम नभएका कर्मचारी र सुरक्षाकर्मीलाई मतदान प्रक्रियामा सहभागी गराइने छैन । त्यसैले सम्बन्धित सबै संघीय, प्रदेश तथा स्थानीय तहका कार्यालयलाई आफ्ना कर्मचारीहरूको विवरण समयमै पठाउन आग्रह गरिएको छ ।

निर्वाचन कार्यालयले धनुषा जिल्लाभित्रका सबै संघीय कार्यालय, स्थानीय तह तथा वित्तीय संस्थालाई नामावली कार्यालय परिसरमा सबैले देख्ने स्थानमा टाँस गर्न निर्देशन दिएको छ । साथै टाँस गरिएको विवरणको मुचुल्का अनिवार्य रूपमा प्रदेश निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

यदि कुनै कार्यालयबाट कर्मचारीहरूको विवरण पठाउन छुट भएको भए माघ २४ गतेभित्र प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सम्पर्क गरी विवरण उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रारम्भिक अस्थायी मतदाता नामावली निर्वाचन आयोगको आधिकारिक वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन मतदाता नामावली अद्यावधिक प्रक्रिया महत्वपूर्ण भएकाले सरोकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।