बलरामा आगलागीले १० बिघाको उखुबाली नष्ट

सर्लाही, ९ माघ । बलरा नगरपालिका–६ मिर्जापुरस्थित गढीमाई मन्दिरको दक्षिणतर्फ रहेको खेतमा अचानक आगलागी हुँदा करिब १० बिघा क्षेत्रफलको उखुबाली जलेर नष्ट भएको छ ।
आगलागीका कारण किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ ।
स्थानीयवासीका अनुसार दिउँसो अचानक खेतमा आगो सल्किएपछि केही समयमै फैलिँदै ठूलो क्षेत्र ओगटेको थियो । हावाको चापका कारण आगो तीव्र रूपमा फैलिँदा नियन्त्रण गर्न कठिन भएको थियो ।
आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय बासिन्दाहरूले बाल्टिन, पाइप तथा अन्य साधन प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । त्यसपछि बरहथवा नगरपालिकाबाट आएको दमकल टोलीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
समयमै आगो नियन्त्रणमा नलिएको भए नजिकैका अन्य खेतबारी तथा बस्तीमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ ।
हालसम्म आगलागीको ठोस कारण खुल्न नसकेको भए पनि सुख्खा मौसम, खेतमा फालिएको सल्किएको सिगरेट वा मानवीय लापरवाहीका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित निकायले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
पीडित किसानहरूले क्षतिको मूल्यांकन गरी राहत उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

