मिर्चैयामा जलेको अवस्थामा महिलाको शव फेला

-श्याम कुमार ठाकुर
सिरहा, ९ माघ । सिरहाको मिर्चैया नगरपालिका–७ अन्तर्गत तितृबोटबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने टेना खोलामा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।
स्थानीय बासिन्दाले खोलामा जलेको शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिई आवश्यक मुचुल्का तयार गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा ती महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको हुन सक्ने आशंका गरिएको छ ।
शवको अवस्था हेर्दा केही समयअघि नै घटनास्थलभन्दा अन्यत्र हत्या गरी यहाँ ल्याएर फ्याँकिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको र उनको उमेर, स्थायी ठेगाना तथा घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । प्रहरीले आसपासका क्षेत्रमा खोजतलास तीव्र पारेको छ भने स्थानीय बासिन्दासँग सोधपुछ गर्दै घटनासम्बन्धी सूचना संकलन गरिरहेको छ ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

