ठगी आरोपमा जनकपुरधाम–५ का दुई जना पक्राउ, दुई अझै फरार

जनकपुरधाम, ९ माघ । धनुषा प्रहरीले ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ का दुई जनालाई पक्राउ गरेको छ भने सोही मुद्दामा संलग्न अन्य दुई जनाको खोजी तीव्र बनाएको छ ।
जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीका आधारमा जनकपुरधाम–५ का दिपक साह ‘मिन्टु’ र राजेश प्रसाद साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बलमे जानकारी दिए । उनका अनुसार पक्राउ परेकाविरुद्ध ठगी तथा विश्वासघातसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार सोही मुद्दामा बृजनन्दन प्रसाद साह र मंजु देवीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरू हाल फरार रहेकाले खोजी कार्य जारी रहेको जनाइएको छ ।
पीडित विजय साहले दिएको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । विजय साह विगत करिब २० वर्षदेखि अमेरिका बस्दै आएका थिए ।
सो अवधिमा उनले पारिवारिक विश्वासका आधारमा ससुरा–सासु तथा सालो नाता पर्ने व्यक्तिहरूलाई धनुषा जिल्लाका विभिन्न स्थानमा जग्गा खरिद तथा घर निर्माणका लागि आफ्नो नामबाट ठूलो रकम र सम्पत्ति पठाएका थिए ।
पीडितका अनुसार ती सम्पत्ति ससुरा बृजनन्दन साह, सासु मंजु देवी तथा सालोहरू राजेश साह र दिपक साहको नाममा राखिएको थियो ।
लामो समयपछि पारिवारिक सम्बन्धमा खटपट आएपछि उनले आफ्नो जग्गा तथा नगद फिर्ता मागेका थिए । तर, आरोपितहरूले फिर्ता दिन अस्वीकार गरेपछि आफू ठगीमा परेको महसुस गर्दै अदालतको शरण लिएको उनले बताएका छन् ।
हाल पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने प्रहरी जनाएको छ ।
फरार अभियुक्तको खोजी कार्य जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

