-ज्योति झा
जनकपुरधाम, ९ माघ ।
मिथिलामा श्रद्धा र आस्थासँग जोडिएको सरस्वती पूजा जनकपुरधाममा धार्मिकभन्दा बढी प्रदर्शन र मनोरञ्जनको माध्यम बनेको देखिएको छ ।

विद्यार्थीहरूका लागि ज्ञान, साधना र अनुशासनको यो पर्व पछिल्ला वर्षहरूमा क्रमशः फेसन शो, फोटोसेसन र टिकटक ट्रेन्डमा सीमित हुँदै गएको स्थानीयवासीले गुनासो गरेका छन् ।

वसन्त पञ्चमीका अवसरमा जनकपुरधामका विभिन्न विद्यालय तथा क्याम्पस परिसरमा सरस्वती पूजाको आयोजना गरिए पनि धेरै स्थानमा पूजाभन्दा बढी सजावट, प्रतियोगिता र तडकभडकमा ध्यान दिइएको देखियो ।

विशेषगरी विद्यार्थीहरूले आकर्षक पहिरन, मेकअप तथा स्टाइलिस फोटोसुटमार्फत सामाजिक सञ्जालमा चर्चित बन्ने होड चलेको देखिन्थ्यो ।

गंगासागर पोखरीको डिल, जानकी मन्दिर आसपास तथा प्रमुख चोकहरूमा बिहानैदेखि टिकटक र रिल्स बनाउन युवायुवतीको ठूलो भिड लागेको थियो । कतिपय विद्यार्थीहरू पूजामा सहभागी हुनुभन्दा बढी मोबाइल क्यामेरामा व्यस्त देखिन्थे ।

धार्मिक स्थलमा समेत सेल्फी र भिडियो बनाउन होहल्ला बढेपछि दर्शनार्थीहरूलाई असहज भएको गुनासो आएको छ ।

स्थानीय बासिन्दा रामनारायण मिश्रले भने, ‘पहिले सरस्वती पूजाको दिन विद्यार्थीहरू मन्दिरमा बसेर भजन, प्रार्थना र अध्ययनमा ध्यान दिन्थे । अहिले भने फेसन र टिकटकमै सीमित भएको छ । संस्कृतिको मौलिकता हराउँदै गएको जस्तो लाग्छ ।’

शिक्षाविद् तथा सामाजिक अभियन्ताहरूले पनि पर्वको मौलिक उद्देश्यबाट युवापुस्ता टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधामस्थित एक क्याम्पसका प्राध्यापक विनोद ठाकुरले भने, ‘सरस्वती पूजा ज्ञान र अनुशासनसँग जोडिएको पर्व हो । तर, अहिले यसलाई देखावटी कार्यक्रम बनाइँदैछ, यसले विद्यार्थीको सोच र संस्कारमा नकारात्मक प्रभाव पार्न सक्छ ।’

यता, केही विद्यार्थीहरूले भने आधुनिक प्रवृत्तिलाई पूर्ण रूपमा नकार्न नमिल्ने तर्क गरेका छन् । कक्षा १२ मा अध्ययनरत एक छात्रा भन्छिन्, ‘हामी पूजा पनि गर्छौं, रमाइलो पनि । टिकटक बनाउनु गलत होइन । तर, सन्तुलन हुनुपर्छ ।’

यसैबीच, जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थल र धार्मिक क्षेत्रमा मर्यादा कायम राख्न आग्रह गरेको भए पनि व्यवहारमा यसको प्रभाव कम देखिएको छ ।

प्रशासनले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मादक पदार्थ, अश्लील गीत तथा अवाञ्छित गतिविधि नगर्न सूचना जारी गरेको थियो ।

संस्कृति, परम्परा र आधुनिक प्रविधिबीच सन्तुलन कायम गर्न नसक्दा सरस्वती पूजाजस्तो पवित्र पर्वको वास्तविक महत्व ओझेलमा पर्दै गएको जानकारहरूको ठहर छ ।

उनीहरूका अनुसार अभिभावक, विद्यालय प्रशासन र स्थानीय निकायले मिलेर विद्यार्थीलाई पर्वको मौलिक उद्देश्यबारे सचेत गराउनुपर्ने आवश्यकता बढ्दै गएको छ ।

धार्मिक आस्था, संस्कार र शिक्षाको प्रतीक मानिने सरस्वती पूजा यदि फेसन शो र सामाजिक सञ्जालको सामग्रीमा सीमित हुँदै गयो भने भावी पुस्तामा संस्कृतिप्रतिको सम्मान कमजोर हुँदै जाने खतरा रहेको सरोकारवालाहरूको चिन्ता छ ।