दूधमती श्मशान घाटको कायापलट, स्थानीयको पहलमा सरसफाइ र व्यवस्थापन तीव्र

जनकपुरधाम, ९ माघ । लक्ष्मीनिया गाउँपालिका वडा नं. २ मा अवस्थित दूधमती श्मशान घाटमा लामो समयदेखि देखिँदै आएको अव्यवस्था अन्त्य गर्दै सरसफाइ, विकास र व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएको छ ।
स्थानीय तहको पहलमा सुरु गरिएको सुधार अभियान अन्तर्गत श्मशान घाट क्षेत्रको सफाइ, बाटो मर्मत, संरचना व्यवस्थापन तथा वातावरणीय सुधारका कार्यहरू द्रुत गतिमा भइरहेको छन् ।
उपेक्षित अवस्थामा रहेको उक्त श्मशान घाटलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो ।
वडा नं. २ का अध्यक्ष लालजी साहको सक्रिय नेतृत्व तथा माँ राजदेवी समाज संरक्षण समितिका अध्यक्ष अजय यादवको अगुवाइमा अभियान अघि बढाइएको छ ।

सोहनी र सिनुरजोडा गाउँका युवा, ज्येष्ठ नागरिक तथा स्थानीयवासीहरूको सामूहिक सहभागिताले यस कार्यलाई थप प्रभावकारी बनाएको छ ।
स्थानीय युवाहरू स्वयं श्रमदानमा उत्रिएर विकासको नेतृत्व गरिरहेका छन् भने नागरिकहरूले आर्थिक सहयोग तथा स्वयंसेवी सेवामार्फत साथ दिइरहेका छन् ।
नियमित अनुगमन र सामूहिक जिम्मेवारीका कारण सुधार कार्य निरन्तर र व्यवस्थित रूपमा अघि बढिरहेको स्थानीयवासीहरू बताउँछन् ।
स्थानीयवासीका अनुसार समुदायस्तरमै सुरु गरिएको यस पहलले दिगो विकास व्यक्तिगत प्रयासभन्दा सामूहिक सहभागिताबाट सम्भव हुने देखिएको छ ।
धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिने श्मशान घाटलाई मर्यादित र सुरक्षित बनाउने कार्यले समाजमा सकारात्मक ऊर्जा थपेको छ ।
सुधार अभियान आगामी दिनमा समेत निरन्तर जारी राखिने र थप संरचना निर्माण तथा सुविधाहरू विस्तार गरिने वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

