रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौं, ८ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ ।
चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगका अनुसार विभिन्न उम्मेदवारविरुद्ध परेको उजुरीमध्ये अधिकांश खारेज भइसकेका छन् । पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकामा तीन वटा उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेको उजुरी पनि खारेज गरिएको छ ।
त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि अस्वीकृत भएको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन् ।
यसैबीच, सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका रास्वपाका लालबिक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने निर्वाचन आयोगमा छलफल जारी रहेको छ । आयोगले कानुनी प्रक्रिया पूरा गरी छिट्टै निर्णय सार्वजनिक गर्ने जनाएको छ ।
निर्वाचन आयोगले उम्मेदवारको योग्यतासम्बन्धी उजुरीलाई प्राथमिकताका साथ अध्ययन गर्दै निष्पक्ष र पारदर्शी रूपमा निर्णय लिने प्रतिबद्धता व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

