जनकपुरधाममा भोलि भूमि लोक उत्सवको तेस्रो संस्करण

जनकपुरधाम, ८ माघ । मधेश तथा मिथिला क्षेत्रको मौलिक संगीत, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको भूमि लोक उत्सवको तेस्रो संस्करण भोलि माघ ९ गते शुक्रबार जनकपुरधामस्थित गोपाल धर्मशालाको प्राङ्गणमा हुने भएको छ ।
भूमि फाउन्डेसनको संयोजनमा आयोजना हुन लागेको उक्त उत्सवले स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै मिथिला क्षेत्रको समृद्ध सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
फाउन्डेसनका अनुसार राष्ट्रिय मूलधारबाट पछाडि पारिँदै आएका मधेश र मिथिलाका लोकसंगीत, नृत्य तथा सांस्कृतिक अभिव्यक्तिहरूलाई पुनर्जीवित गर्ने उद्देश्यले उत्सव सञ्चालन हुँदै आएको हो ।
यस वर्षको संस्करणमा नेपाल तथा सीमावर्ती क्षेत्रका विभिन्न समुदायको पहिचान झल्किने सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ ।
उत्सवमा ललित एण्ड फ्रेण्ड्स, सन्तोष ओडी म्युजिक, मानिया, सुभाष वीरपुरिया, सोनु झा एण्ड टिम, रवि एण्ड सहरियाज तथा महिला होरैया समूहलगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । यी प्रस्तुतिहरूले वसन्त पञ्चमीको अवसरलाई अझ स्मरणीय बनाउने विश्वास लिइएको छ ।
भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले मधेश तथा मिथिला क्षेत्रको कला र संस्कृतिको संरक्षणका लागि निरन्तर सामाजिक र वैचारिक लगानी आवश्यक रहेको बताए । उनले भूमि लोक उत्सवले स्थानीय कलाकारलाई पहिचान दिलाउँदै सांस्कृतिक पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे ।
‘व्यक्तिगत स्वार्थ र व्यस्त जीवनशैलीका कारण सामाजिक सम्बन्ध कमजोर बन्दै गइरहेको अवस्थामा लोकसंगीत र सामूहिक सांस्कृतिक अभ्यासले समाजलाई एकताबद्ध बनाउने काम गर्छ,’ झाले भने ।
आयोजकले सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा स्थानीय समुदायलाई उत्सवको प्रचारप्रसारमा सहकार्य गर्न आग्रह गर्दै कार्यक्रमलाई भव्य र सफल बनाउन सबैको सहभागिता आवश्यक रहेको जनाएको छ ।
भूमि लोक उत्सवले मधेशको ऐतिहासिक कला, संस्कृति र सांगीतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

