महोत्तरीमा १३१ जनाको मनोनयन दर्ता

महोत्तरी, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै चुनावी माहोल तातेको छ ।
जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म गरी जम्मा १३१ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ता उत्साहजनक सहभागितासहित शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
क्षेत्र नं. १ मा २७ उम्मेदवार
महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा २७ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट मुकेश राज काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, जसपा नेपालबाट योग नारायण महतो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार महतो, नेपाल कम्युनिष्ट पार्टीबाट गिरिराज मणि पोखरेल, नेकपा संयुक्तबाट मणिराज निरौला, नेपाल मजदुर किसान पार्टीबाट कृष्णश्वरी दुवाल, जनमत पार्टीबाट विरेन्द्र महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमप्रसाद पोखरेलसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार यहाँ बहुदलीय प्रतिस्पर्धा तीव्र देखिएको छ ।
क्षेत्र नं. २ मा ३७ जनाको दाबी
निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा बढी चहलपहल देखिएको छ । यहाँ ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट किरण यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. दीपक साह, जसपा नेपालबाट शरत सिंह भण्डारी, जनमत पार्टीबाट जयकुमार पाण्डेय, नेकपा एमालेबाट काशिम नदाफ, नेपाल कम्युनिष्ट पार्टीबाट लक्ष्मणकुमार यादव, नेपाल मजदुर किसान पार्टीबाट राजी मण्डल, उज्याले नेपाल पार्टीबाट राकेश मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामलखन कानुसहित थुप्रै उम्मेदवार मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृत शोभाकर खरेलले प्रतिस्पर्धा कडा हुने संकेत गरेका छन् ।
क्षेत्र नं. ३ मा सबैभन्दा बढी ४२ उम्मेदवार
महोत्तरी क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी ४२ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट बजरंग नेपाली, नेकपा एमालेबाट मनोज सिंह, जसपा नेपालबाट मिनाक्षी ठाकुर झा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्जवल झा, नेपाल कम्युनिष्ट पार्टीबाट राजकिशोर सिंह (नब्बा सिंह), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश्वर राय, जनमत पार्टीबाट अरबिन्द ठाकुर, संघीय समाजवादी पार्टीबाट रिजवान अन्सारी, उज्यालो नेपाल पार्टीबाट रञ्जितकुमार साह, नेपाल जनता पार्टीबाट विनयकुमार मिश्र, नेपालको लागि नेपाल पार्टीबाट रजनीश सनातनीसहित स्वतन्त्र उम्मेदवारहरू समेत प्रतिस्पर्धामा छन् । सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलका अनुसार यो क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धाले चुनावी समीकरण जटिल बन्ने देखिएको छ ।
क्षेत्र नं. ४ मा २५ उम्मेदवार
निर्वाचन क्षेत्र नम्बर ४ मा २५ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट महेन्द्रकुमार राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गौरी, नेपाल कम्युनिष्ट पार्टीबाट भरतप्रसाद साह, जसपा नेपालबाट डा. सुरेन्द्र यादव, जनमत पार्टीबाट मनोज साह, नेकपा एमालेबाट निलम अधिकारीलगायत उम्मेदवारहरू मैदानमा छन् । निर्वाचन अधिकृत नारायणप्रसाद चाँपागाईंका अनुसार यहाँ पनि मुख्य दलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार जिल्लाभर कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन् । यसमध्ये दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ जना मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित बनाउन २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिइन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ६४६ मतदाता रहेका छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र १२० मतदान केन्द्र तोकिएका छन् ।
क्षेत्र नम्बर २ मा एक लाख सात हजार ५९४ मतदाता छन् भने ६२ मतदानस्थल र १३३ मतदान केन्द्र निर्धारण गरिएको छ । क्षेत्र नम्बर ३ मा एक लाख १० हजार ४३६ मतदाता रहेका छन् । यहाँ ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ ।
क्षेत्र नम्बर ४ मा एक लाख सात हजार ६०६ मतदाता रहेका छन् । यस क्षेत्रमा ६० मतदानस्थल र १३१ मतदान केन्द्र व्यवस्था गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य श्रेणीमा राखिएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी परिचालन, अनुगमन र समन्वयलाई तीव्र बनाइने जनाइएको छ ।
मनोनयन दर्ता सम्पन्न भएसँगै अब महोत्तरीमा चुनावी प्रचारप्रसारले गति लिने देखिएको छ । ठूला दलसँगै नयाँ र स्वतन्त्र उम्मेदवारको उपस्थितिले यसपटकको निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


