जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पूर्वमन्त्री रामचन्द्र झाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका झाले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै झाले वामपन्थी शक्तिहरूको एकताबाट बनेको नेकपाले जनताको अधिकार, सामाजिक न्याय र आर्थिक रूपान्तरणका मुद्दालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धा अघि बढाएको बताए । उनले धनुषा–२ का जनताको समस्या नजिकबाट बुझेको उल्लेख गर्दै संसद्मा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झा यही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । त्यसबेला उनी तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पराजित गरेका थिए । उक्त अनुभवले आफूलाई थप परिपक्व बनाएको झाको भनाइ छ ।

पुनः उम्मेदवारीसँगै झाले जनताको भरोसा फिर्ता ल्याउँदै धनुषा–२ मा परिवर्तनको राजनीति स्थापित गर्ने लक्ष्य लिएको बताएका छन् ।