धनुषा–४ बाट कांग्रेसका महेन्द्र यादवको उम्मेदवारी दर्ता

जनकपुरधाम, ६ माघ । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका यादवले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै यादवले विगतको निर्वाचन परिणामबाट पाठ सिक्दै यसपटक जनताका समस्या र अपेक्षालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले लोकतन्त्रको सुदृढीकरण, संघीयताको प्रभावकारी कार्यान्वयन तथा धनुषा–४ को समग्र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गरे ।
पछिल्लो निर्वाचनमा यही निर्वाचन क्षेत्रमा यादव पराजित भएका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले पराजित गरेका थिए । त्यस अनुभवले आफूलाई अझ जिम्मेवार र जनमुखी बनाएको यादवको भनाइ छ ।
पुनः उम्मेदवारीसँगै यादवले जनताको भरोसा फिर्ता ल्याएर धनुषा–४ लाई विकास र स्थायित्वको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


