जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट डा. राजीव झाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले झालाई यस निर्वाचन क्षेत्रमा उम्मेदवारका रूपमा अघि सारेको हो ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका डा. झाले राजनीतिमा नयाँ सोच र व्यवहारको आवश्यकता रहेको बताउँदै धनुषा–३ का जनताका लागि वैकल्पिक राजनीतिक विकल्प प्रस्तुत गर्न आफू मैदानमा उत्रिएको बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै विकासलाई कागजमा सीमित नराखी व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे ।

पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका डा. झाले आफू अनुभवी राजनीतिज्ञभन्दा फरक पहिचानसहित जनताको समस्या सुन्ने र समाधान खोज्ने प्रतिनिधि बन्न चाहेको उल्लेख गरे । उनले राजनीति सेवा र उत्तरदायित्वसँग जोडिनुपर्ने धारणा राखे ।