जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तनको उदघोष’ सभामा पार्टीका वरिष्ठ नेता बालेन साहले मैथिली भाषामा भावनात्मक सन्देशसहित सम्बोधन गरेका छन् ।

भाषणको शुरुवातमै ‘नमस्कार ! केना कि है त ?’ भन्दै प्रश्न उठाएका बालेनले विश्वकै सबैभन्दा प्रसिद्ध विवाह जनकपुरधाममै हुँदै गर्दा डेस्टिनेशन वेडिङका लागि बाहिर किन जाने ? भनेर आक्रोश व्यक्त गरे ।

उनले जानकी माताको महिमा र जनकपुरधामको सम्भावनालाई जोड दिँदै जानकी माताको एक्लै क्षमताले करोडौं पर्यटक भित्र्याउन सक्ने दाबी गरे ।

बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनुपर्ने बताए । उनले प्रदेशलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

काठमाडौं केन्द्रित राजनीतिप्रति कटाक्ष गर्दै उनले भने, ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति घुम्न जानुस ।’ काठमाडौंमा दैनिक रूपमा उखु किसान र मिटरब्याज पीडितको आन्दोलन चलिरहेको स्मरण गराउँदै आफू प्रधानमन्त्री बने ती समस्या समाधान गर्ने दाबी पनि गरे ।

समाजवादको व्याख्या गर्दै बालेनले भने, ‘विद्यार्थीले कलेजमा निःशुल्क पढ्न पाउनु, अस्पतालमा निःशुल्क उपचार पाउनु नै समाजवाद हो ।’ यस्तो व्यवस्था सबै प्रदेश र पालिकामा आवश्यक रहेको उनको भनाइ थियो ।

आफ्नो राजनीतिक अवस्थाबारे खुल्दै उनले भने, ‘पहिलोपटक भाषण यसकारण दिँदैछु कि अब म मेयरबाट राजीनामा दिएर फुर्सदमा छु ।’

उनले मधेशी प्रधानमन्त्री बन्नकै लागि नभई सही सरकार बनाउन घण्टी चिन्हमा मत आवश्यक रहेको बताए ।

मैथिली भाषामा गरिएको बालेन साहको सम्बोधनले सभामा उपस्थित कार्यकर्ता र समर्थकहरूलाई उत्साहित बनाएको थियो ।