उदघोष सभामा सहभागी हुन समर्थकलाई बालेनको आग्रह

जनकपुरधाम, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुरधाम आइपुगेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै पार्टीको घण्टीघरस्थित कार्यालय पुगेर वरिष्ठ नेताको जिम्मेवारी सम्हालेका साह आइतबार साँझ सीधै जनकपुरधाम आएका हुन् ।
समर्थकहरूलाई सम्बोधन गर्दै साहले सोमबार जनकपुरधाममा रास्वपाले आयोजना गर्न लागेको बृहत सभामा सहभागी हुन आग्रह गरे ।
उनले जनकपुरधाम आइपुग्दा समर्थकहरूलाई भेट्न पाउँदा खुसी लागेको भन्दै आत्मीयता व्यक्त गरे ।
साहले सोमबारको कार्यक्रमका लागि केही तयारी र व्यवस्थापनबारे बुझ्नुपर्ने बताउँदै जिल्ला प्रहरी प्रमुखसँग सुरक्षा तथा कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरिने जानकारी दिए ।
उनले समर्थकहरूलाई शान्त र संयमित रहन आग्रह गर्दै कार्यक्रमस्थलमै उपस्थित हुन अनुरोध गरे ।
जनकपुर विमानस्थलमा साहको आगमनसँगै समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए ।
रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गर्न लागेको बृहत सभालाई पछिल्लो राजनीतिक घटनाक्रमपछि विशेष महत्वका साथ हेरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


