सप्तरी, ४ माघ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेक छन् ।

उनले स्वाभिमान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने जानकारी दिएका हुन् ।

राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षको हैसियतमा स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गरेको उनको दाबी छ । तर, २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी पुनः अध्यक्ष पदमा पराजित भए ।

स्थानीय तहको निर्वाचनमा पराजयपछि सिंह प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा विजयी भएसँगै उनी मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भए ।

मुख्यमन्त्रीका रूपमा कार्यकाल सम्हाल्दा मधेशको विकास, समावेशिता, सुशासन र अधिकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको सिंहले बताए । उनले आफ्नो नेतृत्वमा प्रदेश सरकार जनमुखी नीतिहरू अघि बढाउन केन्द्रित रहेको दाबी गरे ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरीसहित समग्र मधेशको विकास, नागरिकका हकअधिकार तथा पहिचानका मुद्दालाई राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको उम्मेदवारी घोषणासँगै सप्तरी–२ को राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ ।