धनुषामा निर्वाचन प्रहरीको प्रारम्भिक स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती परीक्षा माघ ५ देखि

जनकपुरधाम, ४ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा निर्वाचन प्रहरी छनोट प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निर्वाचन प्रहरीमा आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण (वेयरिङ चेक) तथा शारीरिक तन्दुरुस्ती परीक्षा माघ ५ गतेदेखि सञ्चालन हुने भएको छ ।
गत पुष २४ गते प्रकाशित विज्ञापनअनुसार माघ १ गतेसम्म आवेदन दर्ता गराएका उम्मेदवारहरूका लागि उक्त परीक्षा दुई सिफ्टमा सञ्चालन गरिनेछ । परीक्षा बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने तालिका तय गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
परीक्षा तालिकाअनुसार माघ ५ गते सोमबारदेखि माघ ७ गते बुधबारसम्म विभिन्न दर्ता नम्बर समूहका उम्मेदवारहरूलाई तोकिएको छ । साथै, सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषामा निर्वाचन प्रहरीका लागि दरखास्त फारम भरेका उम्मेदवारहरूको छनोट पनि यही सूचनाअनुसार एकीकृत रूपमा सञ्चालन गरिनेछ ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा निलार्जुन इन्जिनियरिङ कलेज जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया जाने सिक्स लेन सडक खण्डमा सञ्चालन हुने जानकारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयले उम्मेदवारहरूलाई सक्कल नागरिकता प्रमाणपत्र र कार्यालयबाट जारी गरिएको प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ । साथै, परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
परीक्षामा सहभागी हुने उम्मेदवारहरूले ट्रयाकसुट, स्पोर्ट्स जुत्ता, पिटी कट्टुजस्ता सहज पोशाक लगाएर आउनुपर्नेछ । महिला उम्मेदवारका हकमा आफूलाई अनुकूल हुने पोशाक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
परीक्षा अवधिभर मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ । मोबाइल प्रयोग गरेको पाइएमा सम्बन्धित उम्मेदवारको परीक्षा तत्काल रद्द गरिने चेतावनी पनि दिइएको छ ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा माघ ८ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि रहेको निधी भवन तथा सम्बन्धित परीक्षा केन्द्रहरूमा प्रकाशन गरिनेछ ।
सोही समयमा उत्तीर्ण उम्मेदवारहरूको लिखित परीक्षा सम्बन्धी सूचना पनि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


