पाँचौँ अन्तर विद्यालय टी–२० क्रिकेटको उपाधि मदर टेरेसा पब्लिक स्कुललाई

जनकपुरधाम, ३ पुष । पाँचौँ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मदर टेरेसा पब्लिक स्कुलले हात पारेको छ ।
जनकपुरधामको बाह्रबिघा मैदानमा सम्पन्न फाइनल खेलमा मदर टेरेसाले सिद्धार्थ शिशु सदनलाई १६ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
टस जितेर ब्याटिङ रोजेको मदर टेरेसाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टेरेसाका लागि सुरज यादवले २५ बलमा १६ रन र धर्मराज यादवले १६ बलमा २६ रनको योगदान दिए ।
८९ रनको लक्ष्य पछ्याएको सिद्धार्थ शिशु सदन ७१ रनमै अलआउट भयो । सिद्धार्थका आयुष यादवले १६ बलमा ३० रन र सलमान नदाफले १० बलमा १५ रन जोडे । मदर टेरेसाका बलर रिसन झाले चार ओभरमा सात रन खर्चेर दुई विकेट लिए भने आर्दश यादवले चार ओभरमा ११ रन दिएर दुई विकेट झारे ।
बलिङतर्फ सिद्धार्थका आयुष यादवले चार ओभरमा ११ रन खर्चेर चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने राहुल यादवले चार ओभरमा २० रन दिएर एक विकेट लिए । फाइनल खेलको ‘म्यान अफ द म्याच’ मदर टेरेसाका सुरज यादव घोषित भए ।
प्रतियोगिताअन्तर्गत ‘बेस्ट बलर/फिल्डर’ तथा ‘म्यान अफ द सिरिज’ को उपाधि सिद्धार्थ शिशु सदनका आयुष यादवले जिते । ‘बेस्ट ब्याटर’ संकटमोचन स्कुलका निखिल मण्डल, ‘इमर्जिङ प्लेयर’ न्यू आइडल स्कुलका अभियान्सु सिंह, ‘बेस्ट किपर’ मदर ट्रेसाका विकास विराज र ‘फेयर प्ले अवार्ड’ न्यू आइडल स्कुलले प्राप्त गरेका छन् ।
जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालले स्थानीय स्तरमा क्रिकेट प्रतिभा उत्पादन गर्ने उद्देश्यले पाँच वर्षदेखि निरन्तर अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् । विजयी टिमलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


