जनकपुरधाम, ३ माघ । मैथिली विकास कोष जनकपुरधामको आयोजनामा हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०८२ को तयारी सुरु भएको छ ।

आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल बनाउन विभिन्न समिति गठन गर्दै तयारीलाई तीव्र बनाइएको छ ।

महोत्सवको प्रचार प्रसारलाई प्रभावकारी बनाउन कोषको कार्यकारिणी बैठकले सुजित कुमार झाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

समितिमा दिपक कर्ण, सुभाष कर्ण, पुरन गुप्ता, बिरेन्द्र रमण सदस्य रहेका छन् । त्यसैगरी, समितिका अन्य सदस्यहरूमा संजय साह, संजय यादव, संजय कुशवाहा, काशिन्द्र शर्मा, अजित मिश्र तथा अमरेश मल्लिक रहेका छन् ।

मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीका अनुसार जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवले मैथिली भाषा, साहित्य, कला र नाटकको प्रवर्द्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चका रूपमा चिनाउने लक्ष्य लिएको छ ।

प्रचार प्रसार समिति गठनसँगै महोत्सवको सूचना देश विदेशसम्म पुर्‍याउने काम अझ प्रभावकारी हुने विश्वास लिइएको छ । आयोजकका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी कलाकार, नाटककर्मी र साहित्यकारहरूको सहभागिता रहनेछ ।

यस महोत्सवमार्फत जनकपुरधामको सांस्कृतिक पहिचान र मैथिली सभ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।