बारा, ३ माघ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा–४ मा सक्रिय देखिएका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा बारा–४ बाट आफ्नो उम्मेदवारी सुनिश्चित रहेको दाबी गर्दै उनले सिमरालाई अभियानको केन्द्र बनाएका छन् ।

निर्वाचनलाई लक्षित गर्दै खनालले सिमरामा घर भाडामा लिएर बसोबास सुरु गरेका छन् । पछिल्ला तीन सातादेखि उनी क्षेत्र नं. ४ भित्रका गाउँटोलमा पुगेर विशेषगरी ‘जेनजी’ युवाहरूसँग भेटघाट र छलफलमा जुटिरहेका छन् । युवाको सहभागिता र आवाजलाई प्राथमिकता दिने सन्देशसहित उनी घरदैलो अभियानमा सक्रिय छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जका रमेश लामाका अनुसार खनालले युवासँगको भेटघाटमा आफ्नो पार्टीले जेनजीको प्रतिनिधित्व र मागलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । युवाको भावना नै आम नागरिकको भावना भएको उल्लेख गर्दै खनालले युवासँगको संवादलाई प्राथमिकतामा राखेको बताइन्छ ।

यसअघि एमालेबाट सक्रिय राजनीतिमा रहेका खनाल काठमाडौं–६ र तनहुँ–१ बाट चुनाव लडे पनि पराजित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा–४ बाट उम्मेदवारी दिने तयारी गरेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । पछिल्लो समय भने उनले आफ्नै अध्यक्षतामा ‘समुन्नत नेपाल पार्टी’ गठन गरेका छन् ।

गृह जिल्ला तनहुँ छोडेर बारा–४ रोज्नुको कारणबारे खनालले प्रहरी संगठनमा रहँदा बाराका जनताको व्यापक सेवा गरेको दाबी गरेका छन् । ‘लामो समय यहाँका जनताको सेवा गरेको छु, मैले गरेको कामको मूल्यांकन र सम्मान हुने अपेक्षा छ,’ उनले भने, ‘उहाँहरूको अमूल्य मत खेर नजाओस् भन्ने मेरो चाहना हो ।’

बारा–४ मा एक उपमहानगरसहित चार स्थानीय तह पर्छन् । यस क्षेत्रमा करिब १ लाख ७ हजार मतदाता छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले ३० हजार ३४१ मत ल्याएर जित हात पारेका थिए भने एमालेका एकवाल मियाँले २० हजार ३३६ मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनका लागि बारा–४ मा विभिन्न दलबाट दाबेदार देखिए पनि हालसम्म धेरै दलले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेका छैनन् । यस्तो अवस्थामा खनालको सक्रियता र जेनजी लक्षित अभियानले निर्वाचन प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ ।