जनकपुरधाम, ४ माघ । जिल्ला प्रहरी कार्यालय धनुषाले पुष महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा समुदाय केन्द्रित गतिविधिमा व्यापक कार्य सम्पादन गरेको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार पुष महिनामा जिल्लाभर १४७ वटा आपराधिक मुद्दा दर्ता भएका छन् भने ९१ वटा सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार पुष महिनामा दर्ता भएका १४७ मुद्दामध्ये ५० वटा फर्छ्यौट भएका छन् भने ९७ मुद्दा अझै बाँकी छन् । जघन्य अपराध ५, गम्भीर अपराध २९, आर्थिक अपराध ४१, सामान्य प्रकृतिका अपराध ३५ तथा चोरी–डाँका सम्बन्धी ८ वटा मुद्दा दर्ता भएका छन् ।

यी मुद्दासँग सम्बन्धित ८२ जना प्रतिवादी पक्राउ परेका छन् भने ११८ जना अझै फरार रहेका छन् । फैसला कार्यान्वयनतर्फ ५० जनालाई पक्राउ गरी कुल २६ वर्ष १०१ महिना ३१४ दिन कैद ठेकिएको छ । यस क्रममा बिगो, क्षतिपूर्ति र जरिवाना बापत १३ लाख ३९ हजार ८९४ रुपैयाँ असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४२ वटा उजुरी दर्ता भएका छन् भने ३ वटा उजुरी ज्येष्ठ नागरिकसँग सम्बन्धित रहेका छन् । पीडित तथा पीडकको उमेर समूह मुख्यतः २० देखि ६० वर्षसम्म रहेको प्रहरीको विश्लेषण छ ।

पुष महिनामा २७ जना महिला र २९ जना बालबालिका हराएको उजुरी परेकोमा ५ जना महिला, १ बालक र ५ बालिका फेला परेका छन् ।

घरेलु हिंसासम्बन्धी ४५ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये २३ वटा मिलापत्र वा अदालत पठाइएको छ । प्रहरीका अनुसार घरेलु हिंसाका घटना अझै चुनौतीकै रूपमा रहेका छन् ।

लागूऔषध कारोबारसम्बन्धी ३ वटा मुद्दा दर्ता भई ३ जना पुरुष पक्राउ परेका छन् । उनीहरूबाट १ ग्राम १ मिलिग्राम खैरो हिरोइन, नाइट्रोजेपाम १७ पिस र स्पासो–प्रोक्सिन ५ पिस बरामद गरिएको छ ।

पुष महिनामा आत्महत्याका २२ वटा घटना दर्ता भएका छन् । तीमध्ये अधिकांश झुन्डिएर भएका छन् भने केही विषादी सेवनसम्बन्धी छन् । उमेर समूह हेर्दा १० देखि ३० वर्षसम्मका व्यक्तिहरू बढी प्रभावित देखिएका छन् ।

शान्ति सुरक्षातर्फ ९ वटा LRP, १४४० वटा SRP, ३७ पिकेट, ४२ चेकिङ तथा ३५८ ग्रामीण गस्ती सञ्चालन गरिएको छ । पुष महिनामा २ वटा तालाबन्दी, २ वटा विरोध कार्यक्रम र ५ वटा विरोध र्‍याली भएका छन् ।

यस अवधिमा प्रहरी कारबाहीका क्रममा ९ जना घाइते भएका छन् । त्यसमध्ये ३ जना प्रहरी कर्मचारी रहेका छन् । नियन्त्रणका क्रममा ९ राउण्ड अश्रुग्यास प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

जिल्लामा पुष महिनामा ९१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १५४ जना घाइते भएका छन् । दुर्घटनाका मुख्य कारण तीव्र गति, चालकको लापरवाही र यात्रुको असावधानी रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक चेकिङका क्रममा ७४१ वटा सवारी कारबाही गरी ७ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।

भन्सार छली नियन्त्रणका क्रममा २ वटा सवारी साधन बरामद गरी ८ लाख १६ हजार ८२० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ ।

विपद् व्यवस्थापनतर्फ १५ वटा आगलागीका घटना भएका छन् । त्यसमा ९ जना महिला घाइते भएका छन् । विपद् उद्धारमा २ हजार ११० जना प्रहरी परिचालित भएका छन् ।

समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम अन्तर्गत ३९०७ जनाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । विद्यालय सचेतनामूलक कार्यक्रममा १०३५ विद्यार्थी सहभागी भएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनताको विश्वास अभिवृद्धि प्रहरीको प्रमुख प्राथमिकता रहेको बताए । उनले फरार अभियुक्त पक्राउ, घरेलु हिंसा र आत्महत्या न्यूनिकरणमा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।