मधेश प्रदेशको पहिचान संस्थागत हुनु शहीदहरूको बलिदानको परिणाम : सभामुख यादव

जनकपुरधाम, ३ माघ । मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेशको नामकरण तथा प्रादेशिक राजधानीका रूपमा जनकपुरधाम कायम भएको दिनको अवसरमा सम्पूर्ण प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत सभामुख यादवले नागरिक हक, अधिकार, पहिचान, सामाजिक न्याय तथा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलन, मधेश आन्दोलन, जनविद्रोह र जनयुद्धमा आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सभामुख यादवले शहीदहरूको त्याग, संघर्ष र बलिदानकै कारण मधेश प्रदेशको पहिचान संस्थागत हुन सकेको उल्लेख गर्दै शहीदहरूले देखाएको सामाजिक न्याय, समानता, स्वाभिमान र समावेशितामा आधारित मार्गलाई आत्मसात गर्नु आजको साझा दायित्व भएको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार पहिचानमा आधारित मधेश प्रदेशले सुशासन, शान्ति र समृद्धिको दिशामा निरन्तर प्रगति गर्दै शहीदहरूको बलिदानलाई सार्थक बनाउँदै जाने विश्वास व्यक्त गरे ।
यस दिनले मधेश प्रदेशको पहिचान, अधिकार, स्वाभिमान र समावेशी लोकतन्त्रको यात्रालाई स्मरण गराउने उल्लेख गर्दै सभामुख यादवले सामाजिक न्याय, समानता र समृद्ध सुशासनतर्फ प्रदेश निरन्तर अगाडि बढ्ने विश्वास लिएको जनाए ।
मधेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै आपसी सद्भाव, सहकार्य र एकतामार्फत दिगो विकास र समृद्धिका लागि सबै प्रदेशवासी एकजुट भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

सभामुख यादवले यस अवसरमा मधेश प्रदेशलाई दिगो विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको उदाहरणीय प्रदेशका रूपमा स्थापित गर्ने कामनासहित सम्पूर्ण प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

