—श्याम कुमार ठाकुर
सिरहा, २ माघ ।
मिर्चैया नगरपालिकाको १६औँ हिउँदे नगरसभा सम्पन्न भएको छ ।

मिर्चैयास्थित हिलपार्कमा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधित नीति, कार्यक्रम तथा ७५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।

शुक्रबार सम्पन्न नगरसभामा प्रस्तुत बजेटमध्ये चालुतर्फ ४७ करोड ५० लाख रुपैयाँ (६२.६२ प्रतिशत) र पुँजीगततर्फ २८ करोड ३५ लाख रुपैयाँ (३७.३८ प्रतिशत) विनियोजन गरिएको छ ।

नगरसभाले कृषि उत्पादन वृद्धि, औद्योगिक विकास, रोजगारी सिर्जना र शहरी पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । किसानले प्रयोग गर्ने कृषि मिटरको विद्युत् शुल्क नगरपालिकाले व्यहोर्ने, खेतखेतमा विद्युत् पोल विस्तार गर्ने तथा सिँचाइका लागि स्यालो ट्युबवेल र डिप बोरिङ सञ्चालन गर्ने नीति लिइएको छ ।

माछा, मासु, दूध, फूललगायत उत्पादनको बजारीकरण, भण्डारण र मूल्य श्रृंखला विकासका लागि बजार व्यवस्थापन समिति गठन गरिने निर्णय पनि नगरसभाले गरेको छ ।

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गर्दै नगरभित्रका उद्योग तथा व्यापार व्यवसायको तथ्याङ्क संकलन गरिनेछ । आन्तरिक रोजगारी बढाउन आन्तरिक रोजगार कार्यक्रम र ‘श्रम संचार’ EMIS पोर्टल कार्यान्वयन गरिने जनाइएको छ । आगामी वर्ष नगर प्रहरी पदपूर्ति गर्ने योजना पनि बजेटमा समावेश छ ।

‘घुमौँ मिर्चैया’ अभियानलाई निरन्तरता दिँदै कलिदह, आकाशगंगा र हिलपार्क क्षेत्रको विकासमा जोड दिइएको छ । वडा नं. ५, ६ र ९ मा रहेका हिलपार्क र कलिदहलाई पिकनिक स्पट, खुला जिम र चिल्ड्रेन पार्कका रूपमा विकास गरिनेछ ।

सडक पूर्वाधारतर्फ थाना चौक–गद्रुी बजार, बरमबघा–लहदेवास सडक कालोपत्रे गरिने र वर्ता खोलाको पक्की पुल यसै वर्ष सञ्चालनमा ल्याइने जनाइएको छ ।

शिक्षा क्षेत्रमा विद्यार्थी संख्याका आधारमा शिक्षक व्यवस्थापन, अंग्रेजी माध्यमका लागि स्वयंसेवक शिक्षक, डिजिटल स्मार्ट बोर्ड, डेस्क–बेन्च अभाव अन्त्य तथा स्थानीय पाठ्यक्रम निर्माण गरिनेछ ।

स्वास्थ्य र सामाजिक क्षेत्रमा योग शिविर, योग भवन निर्माण, लागूऔषध दुरुपयोग नियन्त्रणका लागि टोलस्तरीय जनचेतना कार्यक्रम र सडक नाटक सञ्चालन गरिने नीति लिइएको छ ।

नगरपालिकाका सबै सेवा डिजिटल र पेपरलेस प्रणालीमा लैजाने, GIS प्रविधिमार्फत वडा सिमाना र सडक सञ्जालको नक्सांकन, अनलाइन राजस्व संकलन र सिफारिस प्रणाली, बायोमेट्रिक हाजिरी, CCTV, Free Wi-Fi Zone र सूचना बोर्ड जडानलाई प्राथमिकता दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली र EFT मार्फत वितरण गरिनेछ भने PAMS-v2 प्रणाली प्रयोग गरी आर्थिक सुशासन सुदृढ बनाइनेछ ।

नगरपालिकाले १६औँ हिउँदे नगरसभाबाट पारित नीति तथा बजेटले मिर्चैयालाई कृषि, उद्योग, पर्यटन र डिजिटल सुशासनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन आधार तयार भएको दाबी गरेको छ ।