जनकपुरधाम, १ माघ । माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत खिचडी भोजको आयोजना गरिएको छ ।

जनकपुरधामको जानकी चोकस्थित ऐतिहासिक अंगराज सर (अरगज्जा) पोखरीको डिलमा आयोजित खिचडी भोजले मिथिला संस्कृतिको संरक्षण र सामाजिक एकतामा जोड दिएको छ ।

जानकी चोकका करिब दुई दर्जन युवाहरूको पहलमा आयोजना गरिएको यस भोजको उद्देश्य धार्मिक पर्वलाई सामूहिक रूपमा मनाउँदै आपसी सद्भाव, भाईचारा र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु रहेको आयोजकले बताएको छ ।

युवा अगुवा सुशील कर्णका अनुसार विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा खिचडी भोजको आयोजना हुँदै आएको छ । ‘मिथिला संस्कृतिमा माघे संक्रान्तिको विशेष महत्व छ । यो भोज हाम्रो परम्परा र सामाजिक सम्बन्ध जोगाउने माध्यम हो,’ कर्णले भने ।

माघे संक्रान्ति मिथिला क्षेत्रमा ऋतु परिवर्तनको समयको रूपमा मनाइने महत्वपूर्ण पर्व हो । यस अवसरमा खिचडी पकाएर सामूहिक रूपमा खाने चलन पुरानै हो । स्थानीयका अनुसार खिचडी भोजले समाजका विभिन्न वर्ग र समुदायलाई एउटै ठाउँमा ल्याउने काम गर्दछ ।

आयोजम मध्येक किशन मण्डलले खिचडी भोजलाई मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यमको रूपमा व्याख्या गर्दै यसको निरन्तरताको आवश्यकता औँल्याए ।

‘यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउन मद्दत गर्छ,’ उनले भने ।

भोजमा खिचडीसँगै पापड, अचार, दही, चिनी र घ्यूसहितका परिकारको व्यवस्था गरिएको थियो ।

सहभागीहरूले परम्परागत स्वादसँगै आत्मीय वातावरणको अनुभव गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजक युवाहरूले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउँदै आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहभागीहरूले खिचडी भोजले जनकपुरधामको सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको प्रतिक्रिया दिए ।